मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल साझा पार्टीमा

Share:

पोखरा, २६ साउन । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। देशभित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवालाई जोड्न पार्टीको केन्द्रीय समितिको बैठकले २४ वर्षीया सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

‘डिभेलपमेन्ट स्टडिज’मा स्नातक गरेकी सिग्देल पिछडिएका महिलाको सशक्तीकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनले ‘युवा चेन्ज मेकर’का रूपमा स्वीट्जरल्यान्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुति दिएकी छन्।

‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेसन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता हुने होला भन्ने हुँदो रहेछ,’ सिग्देलले भन्छिन्, ‘मलाई चाहिँ राजनीतिक रूपमा अघि बढेर समाजको वृहत्तर रुपान्तरणमा भूमिका खेल्न रहर छ।’

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य रहेको बताउँदै सिग्देलले अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको बताइन्।

सानै उमेरमा सामाजिक उद्यम सुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताका रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक रहेको आइतबार पार्टी प्रवक्ता सूर्यराज आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: