
अनुप पौडेल, पोखरा । पोखरामा डेंगु रोगका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको छ । गएको हप्तासम्म २१ जनामा देखिएको डेंगु संक्रमण अहिले बढेर ६८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिए ।
‘दैनिक संक्रमितको संख्या बढ्दै गएको छ, बिहिबारसम्म ६८ जनामा देखियो,’ उनले भने । गएको साउन १५ गते पोखरा–८, शिवालय चोकका एक पुरुषमा पहिलोपटक डेंगु संक्रमण देखिएको थियो । त्यसपछि अहिले विस्तारै यसको संक्रमण पोखरा उपत्यकाका विभिन्न क्षेत्रमा देखा परेको छ ।
पोखराको वडा नम्बर १, ४, ५, ६, ८, ९, १०, १७, २५ लगायतका वडामा डेंगुका बिरामी भेटिएका हुन् । यीमध्ये सबैभन्दा बढी बिरामी वडा नं ८ र ९ का छन् । गत वर्ष पनि सुरुमा यी दुई वटा वडामा डेंगुको संक्रमण फैलिएको थियो । करिब ५० प्रतिशत बिरामी यी दुई वटा वडाको रहेको उनले जानकारी दिए ।
डा.गौतमका अनुसार संक्रमितहरुको पोखराका विभिन्न अस्पतालमा उच्च निगरानीका साथ उपचार भइरहेको छ । अहिले डेंग देखिएपछि पोखरामा विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । संक्रमण देखिएका वडामध्ये वडा नं ८ र ९ मा अहिले खोज्ने र नष्ट गर्ने (सर्च एण्ड डेष्ट्रोए) अभियान जारी छ ।
‘पुराना गए, नयाँ आए’
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक साताअघि पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्यांकले २१ जनामा यसको सङक्रमण भएको देखिएको थियो । तर, अहिले सुरुमा डेंगु देखिएका बिरामी अस्पतालमा छैनन् । त्यसबाहेकका नयाँ बिरामी थपिदै गएका छन् ।
‘सुरुमा जति जनामा यसको सङक्रमण देखिएको थियो ती बिरामी अहिले पुरानै अवस्थामा फर्किनु भएको छ,’ उनले अघि भने, ‘पुराना जाने, नयाँ आउने भइरहेको छ ।’
एकपटक संक्रमण भए पुरानै अवस्थामा फकिर्न ८ देखि १० दिन लाग्ने गौतमले बताए । उनले भने, ‘यसबाट संक्रमित भए पुरानै अवस्थामा फकिर्न ८ देखि १० दिन लाग्छ, कसैमा धेरै दिन रहन पनि सक्छ ।’
लक्षण र बच्ने उपाय
यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । डेंगुका विषयमा सुरुमा आफैं सचेत हुनुपर्ने डा. गौतम बताउँछन् ।
पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न उनको सुझाव रहेको छ । डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ ।
यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । ‘यो लामखुट्टेले दिउँसो समयमा टोक्छ,’ गौतमले भने, ‘त्यसैले घर वरपरको वातावरणसँगै आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्छ ।’
