
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो ।
गाउँपालिकाबाट विनियोजन भएको रु पाँच लाख बजेटबाट दाङखोलादेखि तत्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले जानकारी दिए । तल्लो थानदेखि गुफासम्म जाने भिरमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको छ ।
गाउँपालिका र प्रदेश सरकारको बजेटबाट कूल करीब ५०० मिटर पदमार्ग निर्माण गरिएको अध्यक्ष घर्तीले बताए । गुफा जाने बाटोमा रहेको अप्ठ्यारो भिरमा ११० मिटर पदमार्गसहित रेलिङसमेत निर्माण गरिएको छ । अक्करे भिरमा जोखिमपूर्ण यात्रा गरी गुफामा जानुपर्ने बाध्यता रहे पनि यस वर्ष पदमार्ग निर्माण भएपछि धेरै राहत मिलेको वडाध्यक्ष पिपला बुढाले बताइन् ।
भिरको बाटोमा व्यवस्थित पदमार्ग नहुँदा कतिपय पर्यटक र भक्तजन मुख्य गुफासम्म नै नपुगिकनै फर्कने गरेकामा पदमार्ग निर्माण भएसँगै सहजता मिलेको उनको भनाइ छ । बुद्ध जयन्तीको अवसरमा विशेष पूजा हुने यस गुफामा पुगेर दर्शन तथा पूजा गरेमा आफ्नो भाकल र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । यस गुफामा सुख, शान्ति र सफलताको कामनासँगै बच्चा नभएका दम्पतीले बच्चा प्राप्तिको लागि भाकल गर्ने चलन रहेको छ ।
