
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भन्न नमिल्ने बताएका छन् । केही वर्षअघि प्रधानमन्त्री ओलीले गैंडा नै नभएको देशमा गैंडालाई ‘राइनोज’ भनिएको भन्दै गैंडालाई गैंडा नै भन्नुपर्ने बताएर सबैलाई हसाएका थिए ।
यही प्रसङ्ग प्रधानमन्त्री ओलीले आज पनि एक कार्यक्रममा दोहो¥याएका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रसङ्ग दोहोर्याएका हुन् ।
करिब चार सय विदेशी पाहुनाको अघि गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति उनले असन्तुष्टि जनाए । प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’ उनले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै भनिदिन पनि आग्रह गरे ।
नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो ।
