
पाल्पा – रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नम्बर ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन ।
सरकारी मापदण्डमा घर बन्न नसक्दा झनै जोखिमको अवस्था रहेकाले गाउँपालिकाले घर बनाउन सहयोग गरेको हो । गाउँपालिकाले घरका लागि कर्कटपाता र कामदार सहयोग गरेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । कामीले नयाँ घर बनेपछि पहिलाको जसरी पानी परेका बेला कता जाने भन्ने चिन्ता हटेको बताए ।
गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानराम पन्थीले आर्थिकरूपमा विपन्न समुदायका वृद्ध दम्पतीको बसोबासका लागि १ लाख ६० हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार परिचालन गरी एकतले घर निर्माण गरिएको जानकारी दिए ।
