मनकामना केबलकारको भाडा बढ्यो

Share:

गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले मन्दिर जाने केबलकारको भाडा पाँच प्रतिशतले बढाएको हो ।

चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केबलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेको थियो । अहिले ५ प्रतिशत बढेर ६ सय ७५ रुपैयाँ पुगेको हो । यस्तै एकतर्फी यात्राको भाडा भने तीन सय ९५ रुपैयाँ पुगेको छ ।

बढेको भाडा भदौ १ गतेदेखि लागू भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले बताए। कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको महाप्रबन्धक कायस्थको भनाइ छ । केबलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ ।

दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने र कर्मचारी तलब २० प्रतिशत बढाएकाले मूल्य बढेको हो । स्थानीय सरकार गठन हुनुअघि सो कम्पनीले गोरखा र चितवनको साविक जिल्ला विकास समितिलाई कर तिर्दै आएको थियो ।

अहिले सो कर स्थानीय तहलाई तिर्नुपर्ने नियम रहेको छ । केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना जाने गर्दछन् ।  मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

कमेन्ट गर्नुहोस्
Share: