‘प्लाज्मा फेरेसिस’ विधिबाट प्रधानमन्त्रीको उपचार सुरु, के हो यो विधि ?

Share:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको हो ।

उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले सो कुरा जनाएका छन्। ‘यो उपचार प्रकृया अरू केही पटक गरिनेछ’, रिमालले आज बिहान ट्‍विटमा भनेका छन्, ‘उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’

प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्यसहितलाई लिएर उपचारका लागि सिंगापुरमा छन्।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रवाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिनले रिप्लेस गर्नुपर्ने हुन्छ । कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ।

कमेन्ट गर्नुहोस्
Share: