
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै अस्मिता कार्की भने सामान्य तारेखमा रिहा भएकि छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासकाे आदेशअनुरुप लामिछानेले पाँच लाख र कँडेलले तीन लाख रुपैयाँ धराैटी बुझाएर रिहा भएका हुन। रिहा हुँदै गर्दा लामिछानेले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको थियो ।
आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो ।
प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।गएको साउन २० गते चितवनको कंगारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफूलाई लामिछाने, कँडेल र अस्मिताले आत्महत्या गर्न बाध्य बनाएको बताएका थिए । भिडियो सार्वजनिक भएपछि साउन ३० मा तीनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । १० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
