
बागलुङ – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महिना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो ।
यस खण्डअन्तर्गतको जिल्ला सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि दिनको आठ घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
आगामी भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७:३० देखि ९:३० सम्म र पुनः १०:३० देखि अपराह्न ४:३० सम्म बाटो बन्द गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।
सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मुलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ ।
बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महिना काम रोकिएको थियो ।
खहरे खण्डसम्म सिद्धि शाही÷प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी/इलाइट/सूर्य कन्स्ट्रक्शन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् ।
२५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन् । सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ ।
सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको हो ।
File Photo
