पोखरामा डेंगु फैलाउन सहयोगी भूमिका खेल्दै वातावरण

Share:

अहिले देश्भरका ६ वटा प्रदेशको ४२ जिल्लामा डेंगु देखा परेको छ । पोखरामा पनि यसवर्ष डेंगु संक्रमण देखिएको एक महिना पुग्न लागेको छ । गएको साउन १५ गते पोखरा–८, शिवालय चोकका एक पुरुषमा पहिलोपटक डेंगु संक्रमण देखिएको थियो । त्यसपछि अहिलेसम्म डेंगुबाट संक्रमित हुनेहरु दैनिक बढ्दै गएका छन् ।

अहिले कास्कीमा ३१२ जना यसबाट संक्रमित भएका छन् । यसै सेरोफेरोमा रहेर स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमसँग बिगखबरकर्मी अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ :-

डेंगु भनेको के हो ?

डेंगु एक रोग हो, यो सङक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो रोग ल्याउने लामखुट्टेकाको नाम एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस हो ।

पोखरामा पनि पछिल्लो एक महिना यता डेंगु देखिएको छ । अहिले नियन्त्रणका लागि के के हुँदैछ ?

जब डेंगुको विषय हामी कहाँ आयो । त्यसपछि हामीले प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययक्षतामा स्वास्थ्य कार्यालय, महानगर र सामाजिक बिकास मन्त्रालयका प्रतिनिधि हरु बसेर डेङ्गु नियन्त्रणमा लिन रणनीति बनायौँ ।

रणनीति बनाइसकेपछि हामीले बिभिन्न अस्पतालमा रहेका डेंगुका बिरामीको डाटा लिएर आयौँ । डेंगु बारे अन्तरक्रिया पनि गरेका छौँ । हामीले बिभिन्न अस्पतालका प्रमुखहरु र तीनका व्यवस्थापकसँग डेंगुुका बिरामीको राम्रो हेरबिचार गर्न निर्देशन समेत दिएका छौँ ।

साथ सबै अस्पतालमा एक एक जना फोकल पर्शन पनि बनाएका छौँ र उहाँहरुले हामीसँग सधैँ अपरान्ह ४ बजे रिर्पोटिङ गर्नुहुन्छ । त्यही प्राप्त रिर्पोटका आधारमा हामीले डेंगुको अवस्था निहालिरहेका छौँ ।

लामखुट्टेको बासस्थान निर्मूल पार्न सक्यो भने डेङ्गु नियन्त्रणमा आउँछ भनेर हामीले हप्ताको दुई दिन भाँडा सफा गर्ने, पानी जम्मा गर्नुप¥यो भने मुख छोपेर राख्न सल्लाह दिएका छौँ । र, ती जम्मा भएका पानी फेर्ने अभियान सञ्चालन गरेका छौँ । यो अभियान अझै पोखरा महानगरका वडा ८ र ९ मा चलिरहेको छ ।

लामखुट्टेले बिरामीलाई टोकेर अरु निरोगीलाई समेत टोक्यो भने रोग सर्छ भनेर हामीले बिरामीलाई झुल सहित उपचार गरिरहेका छौँ । यसले गर्दा बिरामी र निरोगीमा थप समस्याहरु देखा परेका छैनन् । हामीले बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता पनि आएको छैन ।

तर, यति गर्दा गर्दै पनि लामखुट्टेको लागि उपयुक्त मौसम भएका कारण र आम जनताले राम्रो तरिकाले नलिदिँदा अपेक्षित तरिकाले डेंगु नियन्त्रणमा आउन सकेको छैन । तर, हामीले त्यति नगरेको भए पाँच गुणा अझ बढी फैलन सक्थ्यो ।

पोखराको तापक्रमले पनि डेंगु फैलाउन सहयोगी भूमिका खेलेको छ भनिन्छ । यो कसरी ?

कालो सेतो छिर्का हुने यी लामखुट्टेले मल्टिपल बाइट गर्छन् । यिनीहरु दिउँसो बढी सक्रिय रहन्छन् । २० देखि ३० सेन्टिग्रेड यस्ता लामखुट्टेलाई उपयुक्त तापक्रम हो । यो तापक्रममा यो लामखुट्टे निकै सक्रिय हुन्छन् ।

३३ सेन्टिग्रेडमा अलिक इनएक्टिभ बन्छ । पोखराको तापक्रम पनि न धेरै जाडो न त धेरै तातो हुने भएकाले र यो सहरी क्षेत्रमा बढी बस्न रुचाउने भएकाले पोखरामा डेङ्गुको सङ्क्रमण बढीरहेको छ ।

डेंगुको उपचारमा के कस्ता समस्या देखिएको छ ?

डेंगुको कुनै औषधी उपचार नै छैन । हामी केबल सपोर्टिभ औषधी दिन्छौँ । बिरामीलाई थप जटिलताबाट बचाउने कोशिश गछौँ । उपचार खर्च पनि बढी छैन र अहिले उपचारमा त्यति बढी समस्या देखिएको छैन ।

डेंगुबाट संक्रमित भएपछि कति दिनपछि संक्रमित सामान्य अवस्थामा फर्कन्छ ?

भाइरस हाम्रो शरीरमा पसेपछि १ देखि ५ दिन सम्म निकै सक्रिय बन्छ । ६ दिनपछि हाम्रो शरीरको एन्टी बडीले त्यो भाइरस बिरुद्ध लड्न थाल्छ र १५ दिनपछि मानिस सामान्य अवस्थामा फर्कन्छ ।

डेंगुका हुँदा केके लक्षण देखा पर्छन् ?

एकदमै धेरै ज्वरो आउनु, टाउको दुख्नु,आँखाको गेडी निस्कन्छ जस्तो हुनु, जोर्नी दुख्नु, मासु लुछे जस्तो हुनु, ढाड दुख्नु, बान्ता हुनु डेंगुुका लक्षण हुन् । साथै डेङ्गु हेमोरेजिक फिभर हुँदा रगत बग्नु र छालामा हेमोरेजका टाटा देखिन्छ ।

अन्त्यमा, के भन्न चाहानु हुन्छ ?

डेंगुु नियन्त्रणका लागि पहिला आफु सुरक्षित हुनुपर्छ । सबै मिलेर लामखुट्टेको बासस्थान निर्मूल पारौँ, लामखुट्टेको उत्पादनलाई घटाऔँ ।व्यवहार परिवर्तन नगरेर आफ्नो कर्तव्य बुझ्न सकेनौँ भने यसले सधैँ हामीलाई दुख दिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: