
मेस्सी बिनाको लाचार बार्सिलोनाले खराब सुरुवातलाई टार्न सकिरहेको छैन । ला लिगा फुटबलमा साविकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ। ओसासुनासँग शनिबार राति भएको खेलमा बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएको हो ।
कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना खेलको सातौं मिनेटमा पछि परेको थियो । ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा अन्सु फातीले कीर्तिमानी गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । १६ वर्ष ३०४ दिनको उमेरमा गोल गर्दै फाती ला लिगामा बार्सिलोनाबाट सवार्धिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।
यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । यो बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेको छ ।
