
पोखरा । पोखराका बाल अभियान्ताहरुले महानगरका प्रमुख मान बहादुर जिसीको अभिव्यक्ति बालमैत्री नभएको भन्दै आपत्ती जनाएका छन् । गएको शनिबार महानगर प्रमुखको कार्यकक्षमा भएको भेटमा आफूहरुसँग पदीय दायित्वको हिसाबले गैर जिम्मेवार ढङ्गले प्रस्तुत भएको भेटमा पुगेका अभियान्ताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्ने किसिमले बाल दिवस मनाउने लगायत विभिन्न विषयमा कुरा गर्न पुगेका आफूहरु प्रति महानगर प्रमुखले गरेको व्यवहार बालमैत्री नभएको मञ्चले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बालबालिकका बारेमा एक विषय प्रस्तुत गरिरहँदा दिएको अभिव्यक्ति प्रति उनीहरुको आपत्ती छ ।
आर्थिक रुपमा कमजोर र पछाडी पारिएका बालबालिकालाई सहयोग गर्ने र महानगरपालिकाको बालबालिका कोष स्थापना गर्ने योजना रहेपनि हालसम्म रेडबुक नआएको कारणले महानगरपालिकाबाट निर्णय गरेर यो कार्यक्रम गर्नुपर्ने हो की भनेर उनीहरुले जिज्ञासा राखेका थिए ।
लगत्तै मेयर जिसीले आक्रोशित शैलीमा प्रस्तुत भएको उनीसँग भेटमा पुगेका एक अभियान्ताले बताए । ‘हामी सधैं जवाफदेहिताको सिद्धान्तमा विश्वास राख्छौं र व्यक्ती चाहे जस्तो सुकै पदमा रहेपनि पदिय मर्यादा गुमाउनु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ । उनीहरुले आगामी दिनहरुमा कमजोरीहरुलाई आत्मसात गर्दै सुधार गर्न मेयर जिसीलाई आग्रह गरेका छन् ।
मेयर जिसीसँग भएको संवाद सहित जारी गरिएको संयुक्त विज्ञप्ति ::
मिति २०७६/०५/१४ गते शनिबारका दिन हामी महानगर बाल मञ्च, पोखराका पदाधिकारीहरु नियमित कार्यसमिति बैठक बस्न महानगरपालिकाको कार्यालयमा गएका थियौ । हाम्रो कार्यालय वा संस्थागत प्रायोजनका लागी कक्ष नभएकोले सामान्यतया महानगरपालिकाको चमेना गृह (क्यान्टिन)मा हामी कार्यसमितिको बैठक बस्ने गरेका छौँ ।
त्यही क्रममा सोही दिन महानगरपालिकाको आन्तरिक कामले गर्दा पोखरा महानगरपालिकाका आदरणीय प्रमुख ज्यू महानगरपालिकाको सभाहलमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि हामीले उहाँलाई पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र-२०७६ को प्रिन्टेड कपी एकजना उहाँकै सहयोगीको माध्यमबाट दियौं। सोही क्रममा उहाँले प्रमुख ज्यू कार्यकक्षमै हुनुहुन्छ भन्ने जानकारी दिएपछि हामी उहाँलाई भेट्न गयौं।
अन्दाजी २:४५ बजे महानगरपालिका प्रमुख ज्यूको कार्यकक्षमा पुग्यौं। तर,त्यस पश्चात् उहाँ जुन ढंगबाट प्रस्तुत हुनुभयो त्यो उहाँको पदीय दायित्व र मर्यादाको हिसाबले अत्यन्तै नसुहाँउदो र गैर जिम्मेवार थियो भन्ने हाम्रो तर्क हो।त्यसो त उहाँ यस्तो ढंगबाट प्रस्तुत हुनुभएको यो पहिलो पटक भने होईन।
विभिन्न समयका भेटहरुमा उहाँबाट बाल मैत्री व्यवहार नभएको कारणले गर्दा आज त हामी बाध्य भएरै कति सहने भनेर यो विज्ञप्ति जारी गर्ने स्थितिमा पुगेका छौँ । त्यसक्रममा उहाँ संग भएको संवादमा उहाँ प्रत्येक पटक प्रतिक्रियात्मक हुनुभयो। हामी सधै जवाफदेहिताको सिद्धान्तमा विश्वास राख्छौ र व्यक्ती चाहे जस्तो सुकै पदमा रहेपनि पदिय मर्यादा गुमाउनु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ।
हामी र उहाँ बीच उहाँकै कार्यकक्षमा भएको संवाद “आसय“ भन्ने शब्द प्रयोग गर्दै सकेसम्म दुवै पक्षको भनाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरेका छौँ । हामीले सबभन्दा पहिले, “सर, हामीले हाल सम्म ताम, झाम, तडक, भडक धेरै गरेर बाल दिवस मनाउदै आएका छौँ। बाटोमा हिड्ने, र्याली गर्ने यस्तै यस्तै। अब यो संस्कारलाई पनि परिवर्तन गर्नुपर्छ र देशमै एउटा सकरात्मक सन्देश प्रवाह गर्ने र बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्ने किसिमले दिवसमा कार्यक्रम गर्ने सोचिरहेका छौँ ।
हाम्रो प्रस्ताव के हो भने त्यो दिनमा पोखरा महानगरबालिकाको दुर्गम भेगका बालबालिकालाई…“त्यस लगत्तै उहाँले प्रतिक्रिया स्वरूप ,“दुर्गम सुगम भन्ने हुँदैन।महानगरपालिका महानगरपालिका हो।’ भन्नू भो । हाम्रा अभियान्ताले,“सर,शब्दमा नजाउ,शब्द भनेको प्राविधिक कुरा हो।त्यो पछि परिवर्तन गर्न सकिन्छ“भन्ने आसय व्यक्त गर्नुभयो। त्यसपछि हाम्रा अभियान्ताले शब्द समेत परिवर्तन गर्दै “आर्थिक रुपमा कमजोर रपछाडी पारिएका बालबालिकाको सहयोग गर्ने र महानगरपालिकाको बालबालिका कोष स्थापना गर्ने हाम्रो योजना रहेको तर हाल सम्म रेडबुक नआएको कारणले महानगरपालिकाबाट निर्णय गरेर यो कार्यक्रम गर्नुपर्ने हो की भनेर जिज्ञासा राख्दै“ आशय व्यक्त गरे।
त्यसपछि प्रमुख ज्यूले “तिमिहरु सधैं टाउकामा आउछौ,यस्ता कुरा गर्नको लागि शाखाहरु छ।रेडबुक के के चाहिन्छ त्यहीबाट हुन्छ।“ भनेर आसय व्यक्त गर्दै जवाफ दिनुभयो।प्रती उत्तरमा हाम्रा एक जना अभियान्ताले “सर हामीले सामाजिक विकास संग समन्वय गरिरहेका छौँ । तर,पनि यो विषयमा महानगरबाट निर्णय गरी गर्नुपर्ने हुनसक्ने भएकाले सल्लाह लिन आएका हौं र हजुरसंग अन्य विषयमा पनि कुरा गर्न छ।“ भने।
हामी सामाजिक विकास महाशाखा संग समन्वय गर्ने प्रमुख ज्यूको कुरामा सहमत छौ तर “तिमिहरु सधैं टाउकामा आउछौ“ भन्ने उहाँको अभिव्यक्तीले उहाँले नै केही समय अगाडी “बालबालिका संग मयेर“कार्यक्रमको शृङ्खला २२ मा ३,३ महिनाको शनिबार एकपटक बालबालिकालाई समय दिन्छु भनेर गरेको प्रतिबद्धताको समेत मर्म विपरित छ जुनको भिडियो अहिले पनि युटुबमा हेर्न सकिन्छ ।
त्यसपछि हाम्रा एकजना अभियान्ताले उहाँलाई “घोषणा पत्र हेर्नुभयो ?’ भन्ने आसय व्यक्त गर्दै सोध्नुभयो । उहाँको भनाईको आसय यस्तो थियोस“हेर्दै छु।विधार्थी संगठन खोल्न पाईदैन भनेर लेखेछौ।विधार्थी संगठन खोल्न पाईन्छ।म पनि विधार्थीकालमा राजनीति नै गरेर आएको हुँ ।के गर्छौ तिमिहरुले?’ त्यसपछी हाम्रा अभियान्ताले “तर,सर यो त कानुन विपरित छ अनि अर्को कुरा घोषणा पत्रमा त तपाईले नि हस्ताक्षर गर्नुभाछ नि“भनेर प्रश्न गर्दै आसय व्यक्त गर्दा उहाँले ‘के गर्नु तनि सहि गर्न त कत्ती ठाँउमा गरिन्छ नि’ भन्ने खालको आसय व्यक्त गर्नुभयो।
उहाँको यो अभिव्यक्तीबाट उहाँ जस्तो कार्यकारी अधिकार प्राप्त र सम्मानित व्यक्तीले क्यौ ठाँउमा नपढीकनै हस्ताक्षर गर्नुहुँदो रहेछ की? भन्ने प्रश्न पनि खडा हुनसक्छ ।स्मरण रहोस् उहाँबाट नै हस्ताक्षरित पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र-२०७६ को ५ नं. बुँदामा “विधालय शान्ती क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्दे्शिका-२०६९ “मा लिईएका उदेश्य र बालबालिका सम्बन्धि ऐन, २०७५ को परिच्छेद—८सधारा ६६ ‘२’ ‘छ’ मा “राजनीतिक प्रयोजनका लागि संगठित गर्ने गरेमा बालबालिका विरुद्ध हिंसा गरेको मानिनेछ“ उल्लेख भएकाले यी दुवै प्रावधान विपरित विद्यालयमा बालबालिकालाई प्रयोग गरी गठन गरिएका राजनितिक संगठनहरुलाई शिक्षा महाशाखा संगको समन्वयमा विद्यालयहरुमा परिपत्र गरी विद्यमान कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने“ भनेर उल्लेखित छ।
बाल मञ्च भने महानगरपालिकाको पद्वती,प्रक्रिया र आचारसंहिता बमोजिम काम गर्ने अनि महानगर प्रमुखज्यूले चाहिँ आफैले हस्ताक्षर गर्नुभएको घोषणा पत्र कार्यान्वयन जुन एउटा प्रक्रिया मै पर्छ,पालना गर्नु नपर्ने? यो कस्तो असमानता हो हामी उहाँलाई प्रश्न गर्न चाहन्छौ।त्यो दिनको संवादको विषयमा महानगरपालिकाले चाहेको खण्डमा आदरणीय प्रमुख ज्यूको कार्यकक्षमा सिसि टि.भि. जडान भएको खण्डमा सिसि टि.भि. फुटेज समेत चेक गरि (बोली विज्ञ) बोलाई निस्पक्ष जाँचबुझ र छानबिन गर्न सक्ने कुरामा हामी खुल्ला रहेको व्यहोरा पनि यही विज्ञप्तिबाट जानकारी गराउन चाहन्छौ ।
यसका अलावा यस विषयमा आदरणीय प्रमुख ज्यूले हामी संग वार्तारसंवाद गर्न चाहनु भएको खण्डमा पनि हामी खुल्ला छौँ तर सो संवाद त्यस दिनका कम्तीमा पनि ४ जना साक्षी संग महानगरपालिकाको कार्यालय समय भन्दा बाहिर कुनै तटस्थ स्थानमा हुनुपर्ने र सो स्थानमा हुने संवादको कुनै पनि माध्यमबाट भिडियो रेकर्ड गर्न दिनुपर्ने सर्तमा मात्रै सम्भव भएको व्यहोरा सुचित गर्न चाहन्छौ।
हामी चाहदैनौ कि यो विषयले सेवाग्राहीको सेवा प्रवाहमा अप्ठ्यारो होस त्यसकारणले कार्यालय समय पछि मात्रै हामी संवाद गर्न चाहन्छौ।यस बाहेक उहाँले बालबालिकालाई प्रयोग गरिएका राजनीतिक संगठनहरुको विषयमा मात्रै कुरा गर्न चाहनु हुन्छ भने माथि उल्लेखित सर्त अनुरुप नै विद्यार्थी संगठनका प्रमुखहरु समेतको उपस्थितिमा कुनै तटस्थ स्थानमा,कार्यालय समय पछि,४ जना बाल अभियान्ता र अनिवार्य एक जना अधिवक्ता समेतको उपस्थितिमा मात्र संवाद गर्न मन्जुरी रहनेछ।
साथै घोषणा पत्र जारी भएको मिति देखीनै ५ नं बुदाँ कार्यान्वयन नगर्नु भन्दै दोस्रो व्यक्तीहरुबाट धम्कीपुर्ण सूचनाहरु आउन थालेकाले सो प्रकारका कार्य नगर्न र नगराउन हुन पनि सम्बन्धित सबैमा आग्रह गर्दै अभियान्ताहरु यस्ता धम्कीबाट पछि नहटने र आजबाट त झन जोडदार रुपमा लागेर ५ नं बुदाँ कार्यान्वयन गरि छोड्ने प्रतीबद्वता पनि व्यक्त गर्न चाहन्छौ।आज उप्रान्त त्यस्ता धम्की आएको खण्डमा धम्की दिने व्यक्तीको नाम सार्वजनिक गरिने र दोस्रो व्यक्तीबाट धम्कीपुर्ण सन्देश प्रवाह गरिएको खण्डमा पनि फेसबुकमा दोस्रो व्यक्तीबाट धम्कीपुर्ण सन्देश आयो भन्ने व्यहोराको स्टाटस लेखिने व्यहोरा पनि यही विज्ञप्तिबाट अवगत गराउन चाहन्छौ।
अन्त्यमा, प्रमुख ज्यूलाई आगामी दिनहरुमा यी कमजोरीहरुलाई आत्मसात गर्दै सुधार गर्नुहुनेछ भन्ने आशा र अपेक्षाका साथ हाल सम्म पोखरा महानगरपालिकाको उप-प्रमुख ज्यू, केही कर्मचारीहरुज्यूलाई छोडेर धेरै जसो कर्मचारी र हामीले मुलत सहकार्य गर्नुपर्ने सामाजिक विकास महाशाखामा कार्यरत प्रत्येक कर्मचारीज्यू बाट भने बाल मैत्री व्यवहार पाएको व्यहोरा पनि सुचित गर्दै हामीलाई गर्नुभएको व्यवहार प्रती आभार समेत प्रकट गर्न चाहन्छौ।
हामीले यस विज्ञप्ति नेपाल पक्ष राष्ट्र भई अनुमोदित बाल अधिकार सम्बन्धी महासन्धीको धारा १२ विचाररधारणा व्यक्त गर्ने अधिकार र धारा १३ अभिव्यक्ती स्वतन्त्रताको अधिकार बमोजिम नै सार्वजनिक गरेकाले निज कुनै व्यक्ती, निकाय वा संयन्त्रबाट हाम्रा विरुद्ध कुनै किसिमको कारबाही, रोक,थोक गर्न खोजिएका कुन निर्दे्शिका र कार्यविधि,ऐन,नियमले दिएको अधिकार बमोजिम सो कार्य गरिएको हो भनेर हामीले अवश्य पनि प्रश्न गर्ने छौँ र आवश्यकता अनुसार केही अल्पकालीन कार्यक्रमहरु पनि घोषणा गर्न सक्ने व्यहोरा पनि हामी जानकारी गराउन चाहन्छौ।
संवादका साक्षी समेत रहेका निम्न बाल अभियान्ताहरुबाट संयुक्त रुपमा जारी गरिएको:
आरोग्य मोहन काफ्ले
एलिना श्रेष्ठ
निलकण्ठ त्रिपाठी
सुवास अधिकारी
सन्देश वि.क.
मिति:२०७६/०५/१७
