
पोखरा । पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो । यस्तै बुधबार नै उनको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाइएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य रहेका पत्रकार हमाललाई गैरकानूनी रुपमा थुनामा राखिएकोले तुरुन्त बिना सर्त रिहाई गर्नुपर्ने माग पत्रकारहरुको रहेको छ ।
विप्लव समूहको कार्यकर्ताको आरोपमा पत्रकार हमाल गएको भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ परेका थिए ।
उनलाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर, रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाटै प्रहरीले फेरि पक्राउ गरेको थियो । पत्रकार हमाल जनसञ्चार डट कमका सम्पादक हुन् ।
तस्बिर-सुदर्शन रञ्जित

