
काठमाडौं – चिनियाँ ह्याकरले नेपालका विभिन्न ठाउँका ६८ एटीएम ह्याक गरेको खुलासा भएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा ६८ एटीएम ह्याक भएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी भएको देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
भदौ १४ गते बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न ठाउँबाट ७ वटा बैंकका कार्ड प्रयोग गरी १७ बैंकका ६८ एटीएम ह्याक भएको जनाइएको छ । यस्तै नेपालका बैंकबाट रकम चोरी भइरहेकै बेला भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ ।
अनुसन्धानबाट नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको पाइएको छ ।
यसरी १३२ एटीएमबाट नेपाली रुपैयाँ एक करोड ६९ लाख ३९ हजार पाँच सय २० रुपैयाँ निकालेको पाइएको हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो एटीएममा जडित सीसीटीभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।
छानबिन समितिले सीसीटीभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमासमेत नियमितरुपले गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको छ ।
समितिले बैंक तथा वित्तीय संस्थाले जारी गरेको ‘चिप’रहित कार्डलाई तीन महिनाभित्र ‘चिपबेस्ड’ कार्डद्वारा विस्थापन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । बैंक लुटपाट घटनाको अध्ययन गर्न मिश्रको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन भएको थियो ।
