
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई छिट्टै व्यवस्थित गरिने बताएका छन । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाँकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए ।
गण्डकी ट्रक व्यावसायी संघको २० औं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने उनले जानकारी दिए ।
‘संघले डाफ्ट भैरहेको छ भनेर भनिरहेको छ, संघको ऐन अनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकोले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौ, अब चाडै व्यवस्थित हुन्छ’ उनले भने ।
प्रदेश सरकारको राजश्व संकलन हुने क्षेत्र मध्ये यातायात क्षेत्र समेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्ने काम प्रदेश सरकारको प्राथमिकतामा परेको उनको भनाई छ ।
यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न निति प्रदेश सरकारले ल्याइरहेको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारी सधान प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको प्रष्ट्याए ।
विदेशी लगानीमा सबैले सहयोग गरौं
मुख्यमन्त्री गुरुङले प्रदेशमा विदेशी लगानीमा प्रोहत्सन गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
ठूला-ठूला लगानीहरु अहिले विभिन्न आन्दोलन र हड्तालका कारण प्रदेशमा आउने हिच्किचाइरहेको सुनाउँदै उनले यो प्रबृत्ति प्रदेशको विकासका लागि घातक हुने उल्लेख गरे ।
उनले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै निजी क्षेत्रको सहयोगबाट मात्र प्रदेशले मध्यकालिन लक्ष्य प्राप्त गर्न सक्ने स्पष्ट पारेका छन्।
