सुनसरीका २ शैक्षिक संस्थामा बम बिष्फोट

Share:

सुनसरी । सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट भएको छ । इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यराति (सवा १२ बजे) बम बिष्फोट भएको हो ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट भएको हो । बिष्फोटबाट दुवै ठाउँमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाई इटहरीबाट पक्राउ गरेको थियो। सोही कारण उक्त समुहले नै बम विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

बम बिष्फोट गराएर स्थानीयवासीमा त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने जनाइएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने समूहको खोजीलाई तिव्र पारिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: