असोजमा सातौं संस्करणको संगम कप हुने

Share:

पोखरा । संगम क्लब पोखराको आयोजनामा असोजमा सातौं संस्करणको संगम कप फुटबल प्रतियोगिता हुने भएको छ । असोज ६ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुर्य गुरुङले जानकारी दिए ।

गत वर्ष ११ ए साइड मैदानको अभावले हुन नपाएको प्रतियोगिता यस वर्ष लेखनाथको भण्डारढिक स्टेडियममा हुने भएको हो । नक आउट पद्धतिका आधारमा हुने प्रतियोगिताको पुरस्कार राशी यस वर्ष बढाइएको छ ।

असोजमा हुने प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ५० हजार र द्धितीय हुनेले ९० हजार साथमा ट्रफि, मेडल र प्रमाण-पत्र पाउने प्रतियोगिता संयोजक शिव गुरुङले जानकारी दिए । यसअघि २०७४ सालमा भएको छैटौं संस्करणमा प्रथम र द्धितीय भएको टिमले क्रमश रु एक लाख २५ हजार र ७० हजार प्राप्त गरेका थिए ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट डिफेन्स र हाई स्कोरर र मिड फिल्डरलाई जनही पाँच हजार प्रदान गरिने भएको छ । यसबाहेक प्रतियोगिताको बेस्ट प्लेयरले सात हजार पाउने संयोजक गुरुङले बताए ।

६ दिनसम्म चल्ने प्रतियोगितामा २५ टिम सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हङकङ निवासी तिलक गुरुङले प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।

यस्तै सह प्रायोजकको रुपमा लेकसाइडको होटल द कोस्टले द्धितीय पुरस्कार प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न सात लाख ६० हजार खर्च लाग्ने र सात लाख बचत हुने अनुमान गरिएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएको रकम आफूहरुले संचालन गरेको संगम एकेडेमीका साथै सामाजिक कार्यमा खर्च गर्ने उनले बताए । क्लबले दुई महिना अगाडिदेखि संचालन गरेको एकेडेमीमा अहिले झण्डै ७० जना बालबालिबाले फुटबल सिकिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: