निर्माण व्यवसायीको अपहरण गरेको आधा घण्टामै पक्राउ परे मिटर ब्याजी अपहरणकारी

Share:

पोखरा । कास्की प्रहरीले निर्माण व्यवसायीको अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । ।

पोखरा-६ लेकसाइड बस्ने रत्नबहादुर कार्की ‘जीवन’ को अपहरण गरेको आरोपमा पोखरा–१५ का गौतम थापा, पोखरा–८ का वासुदेव पोखरेल, पोखरा–२ का रोहित सुनार र पोखरा–१० बस्ने प्रेमबहादुर थापा पक्राउ परेका छन् ।

यो समूहले बुधबार बिहान निर्माण व्यवसायी जीवनको अपहरण गरेको थियो । बिहान १०:५० बजे पोखरा ९ नयाँबजार स्थित जिल्ला समन्वय समितिको भवन अगाडिबाट यो समूहले उनको अपहरण गरेको थियो ।

चार जनाको समूहले जीवनलाई जबरजस्ती गाडीमा हालेर पोखरा–९ शान्तिवन लगेका थिए । उनको अपहरण गरेर लग्दा सो समूहले मोटरसाइकल स्कटिङ समेत गरेको थियो ।

उनको अपहरण भएलगत्तै प्रहरीले खबर पाएको थियो । यो समूहको नाइके गौतम थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पाएपछि प्रहरीले शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्ड भित्रबाट आधा घण्टामा नै अपहरणकारी समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीले जानकारी दिए ।

अपहरणकारीको मिटर ब्याजी धन्दा

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपहरणकारीले मिटर ब्याजी धन्दा गर्ने गरेको खुलेको छ । कार्कीको पनि यही विषयलाई लिएर अपहरण भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी राजकुमार केसीले बताए ।

कार्कीले आफूले सापटी लिएको रकमको ब्याज तिरेको प्रहरी समक्ष बयान दिएका छन् । उनले रु १६ लाख सापटी लिएको प्रहरीलाई बताएका छन् ।

डिएसपी केसीका अनुसार गौतम थापा नेतृत्वको समूहले कार्कीलाई ज्यान मार्नेसम्मको धम्की दिने गर्दथ्यो। कार्कीले आफूलाई तीन पटकसम्म सोही ठाउँमा लगेर कुट्पिट गरेको बताएका छन् ।

उनीहरुको समूह व्यवसायी कार्कीको घरसम्म पनि पुगेका थिए । मंगलबार साँझ उनीहरु कार्कीको घरसम्म पुगेको अनुसन्धानमा खुलेको छ । कार्की माथि उनीहरुले निगरानी गरिरहेका थिए ।

यसरी धम्की दिन थालेपछि कार्कीले प्रहरीलाई पनि जानकारी गराइसकेका थिए । उनले जानकारी गराएपछि प्रहरी निरन्तर उनीसँग सम्पर्कमा नै थियो ।

‘उहाँले हामीलाई पहिले नै जानकारी गराउनु भएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘जानकारी पाएपछि हामी उहाँसँग निरन्तर सम्पर्कमा थियौँ ।’

अपहरणकारीले आफूहरुको प्रहरीदेखि राजनीतिक दलका नेतासँग चिनजान भएको भन्दै तर्साउने गर्थे । पक्राउ परेका चार जना माथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: