
तनहुँ । दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङ्को शरिरमा तातो पानी खनीएपछि ४ बर्षीया बालिका निर्मला चेपाङ्को उपचारमा समस्या भएको छ । चार दिन देखि दमौली अस्पतालमा उपचाररत बालिकालाई अस्पतालले थप उपचारका लागि पोखरा लैजान अनुरोध गरे पनी आर्थिक अभावका कारण दमौली अस्पतालमै रहनुपरेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् ।
चितवन घर भई हाल तनहुँको व्यास ११ मा मजदुरी गर्दै आएका उनका बाबु गणेशमान चेपाङ् र आमा धनमाया चेपाङ्ले छोरीलाई बचाइदिन सबैसंग आग्रह गरेका छन् । बुबा गणेशमान चेपाङ् एक इट्टा भट्टामा दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परिवार पाल्नुपर्ने र छोरीको उपचारमा आर्थिक अभावले थप उपचार गर्न नसकेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् ।
दमौली अस्पतालले पोखरा रिफर गरे पनी परिबारले आर्थिक अभावका कारण पोखरा लैजान नसक्ने बरु घरमै लैजाने भने पछि अस्पतालले हाल अस्पतालमा उपलव्ध औषधी विरामी र कुरुवालाई खानाको व्यवस्था निशुल्क मिलाएको छ ।
यता दमौली अस्पतालले बालिकाको थप उपचार गर्नुपर्ने हुँदा उक्त सेवा अस्पतालमा नरहेकाले छाला रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ लगाएतको निगरानीमा उपचार गर्नुपर्ने जनाएको छ । ४ बर्षिया बालिका निर्मला चेपाङ्को थप उपचारमा सहयोग गर्न उनकी आमा धनमाया चेपाङ्को मोवाइल नम्वर ९८२६१३११२४ मा फोन गरी अथवा दमौली अस्पतालमै बिरामी बालिकालाई भेटी सहयोग गर्न सकिनेछ ।
