
पोखरा। गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइ रहँदा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ ।
डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि त्यसको परिणाम सोचेजस्तो सकारात्मक देखिन सकेको छैन ।
कास्कीमा अहिले करीब एक हजार ३०० मा यसको सङ्क्रमण देखिसकेको छ जनस्वास्थ्य कार्यालयले जनाएको छ । दिन प्रतिदिन बढ्दो डेङ्गु सङ्क्रमण नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित देखिएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, “एक त सरकारको प्रभावकारी कार्ययोजना नहुँदा आन्तरिक पर्यटन वर्ष त्यति उपलब्धिमूलक बन्न सकेको छैन, अर्कोतर्फ डेङ्गुको सङ्क्रमणको त्रासले पर्यटनमा प्रभाव पार्ने देखिन्छ ।”
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचल पनि डेङ्गुको त्रासले पर्यटन आगमनमा सुस्तता आउने स्वीकार्छन् । बेलैमा प्रभावकारी कदम नचाल्ने हो भने पर्यटन क्षेत्रलाई तहसनहस गराउने उनको भनाइ थियो ।
डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरेर नियन्त्रणको लागि पहल गरिरहेको पोखरा महानगरपालिका–५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बराल सबै क्षेत्रबाट डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र सचेतना भइरहेको र यति हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले भने, “सञ्चारमाध्यमबाट यसलाई त्रासको रूपमा नभई जनचेतनाको रूपबाट यसबाट बच्ने उपायको बारेमा प्रचार गर्दै जाने हो भने कम हुन्छ ।”
जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार डेङ्गु भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले मानिसमा डेङ्गु सार्ने गर्दछ । विशेष गरी रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भन्ने गरेको डा पाण्डेको भनाइ थियो ।
