
पोखरा । पोखराको बिरौटामा किसान बजार संचालनमा आएको छ । कृषकहरुले उत्पादन गरेका फलफूल र तरकारी उपभोक्तामाझ पुर्याउने उद्धेश्यले सो बजार मंगलबारदेखि संचालनमा आएको हो ।
पोखरा महानगरपालिकाको करिब ६ लाख सहयोगमा उक्त बजार संचालनमा ल्याइएको किसान बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणि बरालले जानकारी दिए ।
२५ वटा स्टल रहेको उक्त बजार दैनिक बिहान ६ बजे देखि साढे ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने उनले बताए ।
बजारको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले मानव स्वास्थ्य माथि खेलवाड गरी अस्वस्थ्यकर फलफूल तथा तरकारी विक्रि गरेको पाइए कारवाही गर्ने चेतावनी दिए । उनले कृषकहरुको उत्पादनलाई बढावा दिन महानगर सधैं तयार रहेको जनाए ।
महानगरका कृषि महाशाखा प्रमुख एवम बरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले हाल किसानहरुलाई निशुल्क स्टलको व्यबस्था गरेको जानकारी दिए ।
उनले पोखरा र लेखनाथका अन्य क्षेत्रमा पनि किसान बजार संचालनमा ल्याउने तयारी गरिरहेको बताए । मंगलबार पोखरा २२ पुम्दी भुम्दी र पोखरा २० भलामका कृषकहरुले आफ्नो उत्पादन विक्रीका लागि ल्याएका थिए ।
