
विराटनगर । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।
मंगलबार खाँदबारी अस्पतालमा खाँदबारी–९ का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगरको २ महिनाको छोरा समिर श्रेष्ठ बिरामी भएपछि उपचारका लागि धरान ल्याउने क्रममा अक्करको भीरबाट जिप अरुण नदीमा खसी वेपता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार प्रमेश मिर्गौलाका बिरामी हुन् भने समिरलाई निमोनिया भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । जिपमा सवार बिरामीको साथमा समिरको आमा कल्पना, प्रमेशका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ र चालक सन्तोष विश्वकर्मा रहेको बताइएको छ ।
रातको समयको दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छैन । केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको बताइएको छ । बेपता हुनेहरुको खोजी कार्यमा बिहानैबाट प्रहरी जुटेको बताइएको छ ।
