राहदानी विधेयकको संशोधन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मतले स्वीकृत

Share:

काठमाडौं । “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।

बिहीबारको संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिदै काँग्रेस सांसद पुष्पा भुषालले राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताइन् ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका थिए ।

यस्तै “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो ।

छलफलमा कुनैपनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: