आज संविधान दिवस, राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

Share:

काठमाण्डौं । आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायत उपस्थित हुने बताइएको छ ।

त्यसैगरी देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । यस्तै, असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ।

यसै विच राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।

संविधान दिवस, ०७६ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले यस्तो बताएकी हुन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।

तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न पनि सबैमा आग्रह गरेकी छन् । ‘लामो संघर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्दछु’, राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भनेकी छन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यसको कार्यान्वयनमा जुट्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् ।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकताको सुदृढीकरणका लागि संविधान कार्यान्वयनमा जुट्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: