
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट सुरेन्द्र गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी सीता केसीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।शनिबार दिउँसो भएको मतदानबाट सुरेन्द्रले १३३ मत प्राप्त गर्दा सीता केसीले ९५ मत प्राप्त गरिन् ।
अध्यक्ष पदमा सुरुमा ८ जना आकांक्षी भएपनि चुनावमा होमिदाँ दुई जना मात्र बाँकी रहेका हुन् । तदर्थ समिति संयोजक शंकर विरही गुरुङ र राजेन्द्र सापकोटाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । त्यसकारण पनि सुरेन्द्रलाई जीत सहज बनेको हो । तीन जना बाम निकट हुन् । सीता केसी मात्र काँग्रेस निकट हुन् । यद्यपी, लोकदोहोरी संस्थामा शाखा देखि केन्द्रसम्म पार्टीको आस्थाले काम नगर्ने सम्बन्धित क्षेत्रका व्यक्तिहरु बताउँछन् । तर, भोटका लागि लबिङ भने राजनीतिक आस्थाका आधारमै थियो । यस कुरालाई स्वंय सुरेन्द्रले नै खुलासा गरेका थिए । चुनावमा होमिनु अघि आफूलाई सबैले छाड्दा समेत आमाछोराको सम्बन्धमा रहेका सीता ‘मामु’ ले आफूलाई नछाडेको र पार्टीगत आधारमा अस्तित्वको लडाईं बनाइएकाले आफू चुनावमा होमिन बाध्य भएको बताएका थिए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार विजयी भएका छन् । उनले ११६ मत प्राप्त गर्दा अमर धितालले १०८ मत ल्याए । धिताल काँग्रेस निकट हुन् । प्रथम उपाध्यक्षमा ३ जना भिडेकोमा केशव देवकोटा १०१ मतका साथ विजयी भए । जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गरे । नेकपा निकट शिवहरि र जयकुमार मिल्न नसक्दा केशवलाई जित सहज बन्यो ।
द्वितीय उपाध्यक्षमा कास्की शाखाका निवर्तमान अध्यक्ष प्रेमराज अधिकारी पराजित हुन पुगे । उनलाई ४ मतले आरसी पौडेलले हराए । आरसीको ११४ र प्रेमराजको लागि ११० मत खस्यो । आरसी काँग्रेस समर्थित हुन् । महिला उपाध्यक्षमा माया गुरुङ निर्विरोध चयन भईन् । बाग्लुङकी रेनु केसीले अन्तिव अवस्थामा छाडिन् ।
सचिवमा काँग्रेस निकट राजन कार्की निर्विरोध बने । गोरखाका शिव केसीले उम्मेदवारी झिके । महिला सचिवमा मञ्जु बिक सर्वसम्मत भईन् । २ जना सहसचिवमा ज्योति लोहनी र रामजी पौडेल विजयी भए । दुवै जना काँग्रेस निकट हुन् । रामजीले १५९ र ज्योतिले १२३ मत प्राप्तगर्दा अमित विश्वकर्माले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा ३ जना प्रतिष्पर्धामा उत्रेकोमा इन्द्रा गुरुङले बाजी मारिन् । उनले ९८ मतका साथ जित हात पार्दा शंकर पन्त ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गरे । शंकर र केशव नमिल्दा इन्द्रालाई फाइदा पुग्यो । सहकोषाध्यक्षमा काँग्रेस निकट कृष्ण सुवेदी २३ मतान्तरले विजयी भए उनले १२३ मत प्राप्त गर्दा इश्वर सिंहले १०० मतमा चित्त बुझाए ।
पेशागत संस्थाको चुनाव भएकाले पनि पार्टी भन्दा माथि उठेर व्यक्तिगत निकटताको आधारमा मत खस्दा दुवै संगठनका व्यक्तिहरुले चुनाव जित्न सफल भएका छन् । सदस्य पद सर्वसम्मत चयन भएको छ । थप विवरण आउन बाँकी ।
