
बागलुङ – गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष सन् २०१९ लाई सफल पार्न बागलुङ जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ ।
जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ ।
तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन गरिएको जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भुसालले बताए।
उपसमितिमा स्थानीय तहका उपप्रमुख उपाध्यक्ष, सदस्यमा कार्यपालिकाका सदस्य तीन, पर्यटन व्यवसायी÷विज्ञबाट तीन जना सदस्य रहने व्यवस्था छ । यस्तै, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत उपसमितिको सदस्यसचिव रहने जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष भुसासले जानकारी दिए।
पालिकास्तरको उपसमितिले स्थानीय तहमा पर्यटन वर्षको कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वयको काम गर्नेछ । सन् २०२२ मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको काम अघि बढाएको छ ।
गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको छ । यस्तै, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तरराष्ट्रिय पर्यटन वर्ष घोषणा गरेको छ ।
भ्रमण वर्ष सफल पार्न गएको भदौ २१ गते जिल्लास्तरीय समन्वय उपसमिति गठन भएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठिन जिल्लास्तरीय समन्वय उपसमितिले जिल्लामा पर्यटन प्रवद्र्धनका काम अघि बढाएको छ ।
