
स्याङ्जा – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट भुसाल पक्राउ परेको पुष्टि गरे ।
बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो । प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका भुसाल स्याङ्जाका निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनले प्रतिक्षा निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गरेको प्रहरीले बताएको छ ।
यसअघि यही प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो । घटनाका मुख्य अभियुक्त भारतमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नताको आशंका बढेपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरेको छ ।
अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरिएको उपप्रबन्धक दिर्घ अर्यालले जानकारी दिए ।
