
पोखरा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबारबाट कास्कीमा ‘चालकसँग एक क्षण’ कार्यक्रम सुरु भएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो ।
लामो तथा छोटो दुरीका सवारी साधनहरुमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरुको सुरक्षित यात्रालाई मध्यनजर गर्दै कार्यक्रम थालिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाडपर्वहरुलाई लक्षित गरी सवारी साधनमा हुने विभिन्न अवाञ्छित गतिविधिहरु साथै सडक दुर्घटनालाई न्यूनिकरण गर्न प्रहरी अधिकृतहरुले चालक तथा सहचालकलाई सुरक्षित एवम् सभ्य यात्रा बारे सहजीकरण गरेका छन् ।
यात्रुहरुका समस्या समाधानका लागि यात्रु सहायता कक्षको स्थापना गरि सेवा प्रवाह समेत सरु गरिएको छ । पोखराको पृथ्वीचोक बसपार्क, बाग्लुङ्ग बसपार्क र छोरेपाटनमा यात्रु सहायता कक्ष स्थापना गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले चाडपर्वमा यात्रुलाई दुख दिने, बढी भाडा लिने काम नगर्न आग्रह गरको छ । यात्राका क्रममा दुख दिए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सकिने प्रदेश प्रहरीले जनाएको छ ।
यसअघि आइतबार भएको एक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले यात्रुलाई दुख दिएको खबर पाए कडा कारबाही गर्ने चेतावनी समेत दिएका थिए।
यो पनि – यात्रा गर्दा गाडीवालाले दुख दिए प्रहरीलाई खबर गर्न आग्रह

