पर्यटन प्रवर्धनका लागि पोखरामा पहिलोपटक अन्तराष्ट्रिय क्रस-कन्ट्री दौड हुने

Share:

पोखरा । पोखरामा असोज अन्तिममा अन्तराष्ट्रिय क्रस-कन्ट्री दौड २०१९ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुनमिङ माउण्टेनियरिङ एण्ड एक्पोरेसनको आयोजनामा आउँदो असोज २९ गते सो प्रतियोगिता गर्न लागिएको हो ।

पोखरामा यस्तो खालको कार्यक्रम यसअघि भएको थिएन । पोखरालाई चीनको पर्यटकीय बजारमा परिचति गराउन र साहसिक खेलकुद केन्द्र बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक विश्वशंकर पालिखेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको कुनमिङ शहर र पोखरा महानगरपालिकाको संरक्षकत्वमा दौड हुँदैछ । ‘प्रदेश र संघ सरकारले पर्यटन वर्ष र भ्रमण वर्ष मनाइरहेका बेला यो कार्यक्रमले थप सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘अझै साहसिक खेल पर्यटन प्रवर्धन गर्न सके पोख्रेली पर्यटनलाई थप टेवा पुग्नेछ ।’

दौडमा सहभागि हुन चीनका करिब ४० जना धावकसहित ६० जनाको टोली पोखरा आउने भएको छ । यस्तै प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपिएफका ३० जना धावक सहभागि हुने संयोजक पालिखेले बताए ।

४२.२ किलोमिटर दुरीको यो दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । आयोजकका अनुसार दौडमा सहभागि हुने धावकहरु मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म पुग्नेछन् ।

दौडमा सहभागि हुने हरेक टोलीमा एकजना महिला अनिवार्य हुनुपर्ने नियम राखिएको छ । त्यसमा दुई महिला र एक पुरुष वा एक महिला दुई पुरुष राख्न पनि सकिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने चिनियाँ टोलीलाई ट्रफी प्रदान गरिने छ ।

यस्तै प्रथम, द्धितीय र तृतीय हुने टोलीका ९ जना नेपाली धावकले चीनको कुनमिङ शहरमा आगामी नोभेम्बरमा हुने माउण्टेनियरिङ रेसमा सहभागि हुने अवसर पाउने छन् । यसबाहेक प्रतियोगितामा व्यक्तिगत रुपमा समेत सहभागिता जनाउन सकिने कास्की जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष याम गुरुङले जानकारी दिए ।

बैदामको बाराही घाटबाट सुरु हुने ‘मेघा इभेण्ट’ गौरीघाट, सहिदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड हँदै पार्दी पुल, डेविज फल, तिब्बतियन क्याम्प, फुस्रेखोला, राम्दी, मट्टीखान रिर्सोट, रामकोट, कुभिण्डे, पुम्दी-भुम्दीको उल्लेरी, खरिखानी, लुकुन्स्वाँरा, लिचिबोट र फेवातालमा बोटिङ गर्दै बाराही घाटमा नै पुगेर टुङ्गिने अध्यक्ष गुरुङले बताए ।

नेपाल पर्यटन बोर्डले प्रवर्धन गरेको दौडलाई एथलेक्ट सोसाइटी काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लबलगायत विभिन्न संघ÷संस्थाले सघाएको पालिखेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: