
पोखरा । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले फेवाताल संरक्षणमा गम्भीर भएर लाग्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै संगठनले फेवातालमा हरेक वर्ष देखिने जलकुम्भीको समस्यालाई आधुनिक प्रविधीको प्रयोग गरेर समाधान गर्न सुझाव दिएको छ ।
‘फेवातालमा पछिल्लो समय जलकुम्भी झारको समस्या देखिएको छ र उक्त समस्या हटाउन सरकार वा सम्बन्धित निकायले लापरबाही गरेको देखिएकाले आधुनिक प्रविधीको प्रयोग गरेर समाधान गर्न माग गर्दछौं ।’ ज्ञापन पत्रमा भनिएको छ ।
यस्तै फेवातालको ड्यामसाइडमा रहेको ड्याम जीर्ण भएकाले पुननिर्माण गर्न पनि संगठनले ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्रमा पछिल्लो समय युवापुस्ता लागूऔषधको दलदलमा फस्दै गएकाले समयमै ध्यान दिन, पोखराको सडक पुननिर्माणमा ध्यान दिन र भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही माथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न पनि माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले आफूहरुले राखेको माग सम्बोधन गर्ने आश्वासन दिएको युवा संगठनका केन्द्रिय सदस्य मनिष केसीले जानकारी दिए ।
प्रजिअलाई ज्ञापन पत्र बुझाउन संगठनको गण्डकी प्रदेश प्रमुख हिक्मत जंग कार्की, महासचिव शिशिर शर्मा, कास्की जिल्ला सचिव सौरब त्रिपाठीलगायत पुगेका थिए ।
