
काठमाडौं । नेपाल टेलिकमले आज (बुधबार) देखि देशैभर फोरजी/एलटीई सेवा सञ्चालन गर्दै छ।
देशका सातै प्रदेशका प्रमुख सहरमा उक्त सेवाको सेवाको सफ्ट लन्चमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक सुरुवात गर्ने कार्यक्रम रहेको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको छ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा मुख्य सहरहरू दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढीमा यो सेवा सञ्चालन गरिने भएको हो।
त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने टेलिकमले जनाएकाे छ।
यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको हाे। यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरूको प्रवाह पनि सहज हुनेछ।
मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ।
