चितुवाले आक्रमण गर्दा कास्कीमा १५ भेडा-च्याङ्ग्रा मरे

Share:

पोखरा। मुस्ताङबाट ल्याइएका भेडा-च्याङ्ग्रालाई कास्कीमा चितुवाले आक्रमण गरी मारेको छ। दसैंका लागि ल्याइएका भेडा-च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिकामा चितुवाले मारेको हो।

रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका- ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए।

दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। चितुवाले भेडा-च्याङ्ग्रा आक्रमण गरेको थाहा पाएपछि व्यापारी उठेर होहल्ला गरेपछि चितुवा भागेको वडाध्यक्ष गुरुङले बताए।

रातको समयमा बास बसेका च्याङ्ग्रालाई चितुवाले आक्रमण गरेको बताइएको छ। भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए। भेडा-च्याङ्ग्रा मर्दा ४ लाख रुपैंया घाटा भएको अनुमान गरिएको छ।

तस्विर: श्रीभद्र पौडेल

कमेन्ट गर्नुहोस्
Share: