कृष्णबहादुर महरा आज पक्राउ पर्ने, जबरजस्ती करणी गरेको पुष्टि भए तीन वर्ष कैद र ३० हजार जरिवाना

Share:

काठमाण्डौ – यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा आज पक्राउ पर्ने भएका छन् ।  ‘आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी स्रोतले भनेको छ ।

पीडित भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।

उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकीसमेत थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए ।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । यदि महराले जबरजस्ती करणी गरेको पुष्टि भए उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।

खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

त्यसैगरी शुक्रबार नै राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीलाई घटनाको अनुसन्धानको जानकारी माग गरेको थियो भने अनुसन्धानको अनुगमन गर्न तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोलीसमेत गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: