अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रधानमन्त्रीद्वारा आग्रह

Share:

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नपर्ने बताएका छन् । ६३ औँ प्रहरी दिवस कार्यक्रममा उनले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।

उनले अपराधका घटनाको निष्पक्ष छानबिनका लागि सरकारले प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘अपराध न्यूनिकरण र अपराधका घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीलाई सहयोग गर्ने कुरामा सरकारले ग्यारेन्टी गर्छ’, प्रधानमन्त्रीले भने ‘प्रहरीले अपराध गर्ने व्यक्ति कुन पार्टीको हो भनेर चिनिरहन आवश्यक छैन ।’

यस्तै प्रधानमन्त्री ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ । प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दुखी हुने द्विविधा भयो ।’

कार्यक्रममा ४३ जना प्रहरीलाई अमर प्रहरी घोषित गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले अमर प्रहरी घोषणा गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: