
पोखरा। ६४औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखरामा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा प्रहरी दिवस मुल समारोह तथा श्रद्धान्जली एवं पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिअमर प्रहरी प्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।
साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगयात कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धा सुमन व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको शंकटपूर्ण अवस्थामा पनि देश र जनताको सेवामा अनवरत रुपमा तल्लिन रही कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै गण्डकी प्रदेश प्रहरी देश मै नमूना प्रहरीको रुपमा विकास भईरहेको कुरा बताए ।
अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन्। गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि आफूले संघिय सरकार समक्ष विशेष पहल गरिरहेको कुरा समेत मुख्यमन्त्री गुरुङले सुनाए ।
उक्त कार्यक्रममा आफ्नो शुभकमाना मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हरि बहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न सबैजना मिलि हातेमालो गर्दै दण्डहिनता अन्त्यका लागि अथक प्रयास गर्नुपर्ने कुरा बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नागरिक मैत्री सुरक्षित वातावरण, कानूनको सर्वोच्चता र जनताको सर्वोपरिता, संगठित अपराध नियन्त्रण र अनुसन्धान जस्ता जटिल कार्यहरु प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएकाले नेपाल प्रहरी समुदाय(प्रहरी साझेदारी अवधारणाका माध्यमबाट जनताको समिपमा पुगेको कुरा बताए ।
सोही कार्यक्रम कै अवसरमा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक पुजा सिंहले अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरेका थिए ।
प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो। प्रहरीको भौतिक तथा आर्थिक पक्षमा सहयोग गरी शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पुर्यापउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।
