प्रधानमन्त्री ओलीद्वारा सी हिड्ने बाटोको निरीक्षण, दुई दिन सडकका किनारमा हिँडडुल गर्न रोक

Share:

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् ।

सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार र आइतबार रिङरोड भित्र ठूला मालवाहक सवारी साधन नचलाउन आग्रह गरेको छ ।यस्तै सी को मुख्य सवारी मार्गको सट्टा अरु वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको हो ।

अनावश्यक सवारी साधानको प्रयोग नगर्न, सी को सवारी मार्गमा पुराना तथा अवस्था राम्रो नरहेका सवारी साधन नचलाउन, हर्न अत्यावश्यक बाहेको अवस्थामा नबजाउन, ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका प्रमुख भीम प्रसाद ढकालले पुराना र अवस्था ठिक नभएका सवारी साधन चलाउँदा बीच बाटोमै जुन कुनैबेला पनि बिग्रिनसक्ने भएकाले नचलाइदिन अनुरोध गरेका छन् ।

यस्तै, राष्ट्रपति सीको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: