
काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । हरेक वर्षजस्तै यो वर्ष पनि दशैं, तिहार र छठका अवसरमा कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान आयोजना गर्न लागेको हो ।
कांग्रेसले आज पार्टी मुख्यालय सानेपामा दिउसो १ देखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट व्यक्ति एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
कांग्रेसले विसं २०३३ सालमा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
