
काठमाण्डौ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ ।
दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, आईसीसीले शर्तहरु भने खुलाएको छैन।
यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ । आईसीसीले क्यानको प्रगतिलाई ध्यानमा राख्दै सदस्यता प्रदान गरेको बताएको छ ।
‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछ’, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, ‘जसमा वित्तीय कोष पनि समावेश हुनेछ।’
आईसीसीले निलम्बन गरेको साढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।
