
रेम बिक
पोखरा, २ कात्तिक । फिल्म चलेपछि त्यसको निर्माणपक्ष र कलाकारको खुशी कस्तो हुन्छ ? यो कुराको उत्तर ‘छ माया छपक्कै’ टिमको अनुहारमा हेरे पुग्छ ।
फिल्म हिट भएको खुशी साट्न पोखरा आईपुगेका दीपकराज गिरी, दीपाश्री निरौला र केकी अधिकारीको अनुहारमा खुशी छचल्किएको जो कसैले देख्न सक्थ्यो । उनीहरुले शनिबार दिनभरी पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग आफ्नो खुशी साटे । फोटो खिचाए । अनि दर्शकलाई फिल्म मन पराएकोमा धन्यबाद ज्ञापन गरे ।
त्यसो त यो फिल्मलाई रिलिज अगाडि नै ‘स्योर सट हिट’ मानिएको थियो । तर फिल्मवृत्तको विभिन्न खाले राजनीति दीपकराज गिरीका लागि पहाड बनेर उभिएको थियो । प्रचारको क्रममा फालिएको ट्रेलर र गीत पनि आफ्ना अघिल्ला ‘छक्का पञ्जा’ सिरिजका जस्ता चर्चित भएनन् ।
दीपककै शब्दमा भन्ने हो भने पुरै फिल्म उद्योगका मानिसहरु नै उनीहरुको विपक्षमा लागेका थिए । उनको भनाई अनुसार फिल्म लाइनका धेरै मान्छेहरु ‘छ माया छपक्कै’को ब्यापार नभएको हेर्न चाहन्थे । र, फिल्मको ट्रेलर अनि गीतको भिडियोलाई लिएर उनीहरुले फिल्म फ्लप हुने लख काट्दै खुशीयाली पनि साटे ।
बिद्रोही स्वभावका दीपक पछि हट्ने खालका थिएनन् । चर्चा र विवादमा तानिईरने दीपकले फिल्मको चर्चा कम भएको भान भएपछि प्रमोशनल गीत ‘बीच्च बीच्चमा’ ल्याईदिए । गायक तथा मोडल दुर्गेश थापासँगको सहकार्यमा सार्वजनिक गरिएको गीतले फिल्मको प्रचारलाई विवादस्पद नै सही, एकाएक चर्चामा ल्याईदियो ।
दशैँभन्दा पछाडि फिल्म हलमा आयो । अपेक्षाकृत व्यापार ग¥यो । ‘फिल्म लाइनका मानिसहरु हाम्रो विरुद्धमा दलबलसहित लागेर के भयो त ? आखिर दर्शकले हामीलाई हलमा रुचाईदिनुभयो । यही हाम्रो जीत हो ।’ दीपक सन्तुष्ट सुनिए । शनिबार पोखरा आएका उनीहरु हाउसफूलसहित प्रदर्शन भैरहेको आफ्नो फिल्मलाई लिएर झन् रमाए । दीपक खुशी थिए । दीपाश्री र केकी पनि उस्तै खुशी देखिए ।
निर्माणपक्षले दिएको जानकारी अनुसार दोस्रो साताको अन्तिमसम्म आईपुग्दा फिल्मले सात करोड माथिको व्यापार गरिसकेको छ । दोस्रो साताको शनिबार पनि काठमाण्डौसहित पोखरा, नारायणघाटका मल्टिप्लेक्समा दर्शकको उच्च साथ पाईरहेको छ । व्यापारको आँकडा अझै बढ्ने निश्चित छ । अपेक्षित फिल्महरु नआएकैले यो फिल्मले तिहारसम्म गतिलो व्यापार गर्ने हलवालाहरुले बताएका छन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्स्को सँयुक्त ब्यानरमा बनेको यो फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
तस्वीरहरु : जक्शन डटकम



