
पोखरा । कास्कीमा हिउँले पुरिएर एक किशोरको ज्यान गएको छ । घटनामा परी २ जना घाईते भएका छन् । बुधबार मध्यान्ह कास्कीको अन्नपूर्ण गाउँपालिका ११ देउराली बेस क्याम्प नजिक बगरमा घुम्न गएका ३ किशोर हिँउको चट्टान मुनी परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय पोखराका एसपी दीपक रेग्मीका अुनसार पोखरा ५ पर्स्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गएको हो । पोखरा महानगरपालिका ११ फुलबारी बस्ने वर्ष २० का सन्तोष वास्तोला र पोखरा ५ पर्स्याङका १८ वर्षीय निरञ्जन कोइराला घाईते भएका छन् ।
उनीहरु व्यक्तिगत तरिकाले घुम्न गएका थिए । घुम्न गएकै अर्को टोलीले थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो ।
घटनास्थल प्रहरी चौकी घान्द्रुकबाट अन्दाजी पैदल १८, १९ घण्टा उत्तर पर्ने जनाइएको छ । दुवैको अवस्था सामान्य रहेको र मनिपाल अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका सञ्जयको शव निकाल्न सकिएको छैन ।
मौसम प्रतिकूलताका करण हेलिकोप्टर जान नसकेकाले शव निकाल्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राज कुमार के.सीले बिगखबरलाई जानकारी दिए। उनको शव बिहिबार निकालिने बताइएको छ ।
