
पोखरा । काङ्ग्रेस (बिपी) ले कास्की-२ को उपनिर्वाचनमा उम्मेदवार उठाउने जनाएको छ । सो पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की-२ मा उम्मेदवार उठाउने जानकारी दिएको हो ।
अन्य बेला खासै सक्रिय नदेखिएको काङ्ग्रेस (बिपी) चुनाव नजिकिदै गर्दा भेटघाट र छलफलमा जुटेको छ । उम्मेदवार उठाउने जनाए पनि नाम भने केही समयपछि सार्वजनिक गर्ने पार्टीका वरिष्ठ नेता देवी ओझाले जानकारी दिए ।
उम्मेदवार उठाउने विषयमा पार्टी भित्र आन्तरिक छलफल तीव्र पारिएको उनले जनाए । सात जनाको नाम छलफलमा रहेको तर कसलाई उठाउने भन्ने बारे कुनै निर्णय नभएको पार्टीले जनाएको छ ।
पार्टीका महामन्त्री सुशील शेरचनले स्थानीय नेतालाई नै उम्मेदवार बनाउने बताए । साथै उनले संगठन विस्तारको काम क्रमिक रुपमा अगाडि बढाउने जानकारी दिए । उनले बिपी कोइरालाका सिद्धान्त अँगालेर पार्टीलाई अगाडी बढाउने जानकारी दिए ।
