
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आचारसंहिता जारी गरेको छ । शुक्रबार (आज) बाट निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता जारी रहने आयोगले जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेरै आचारसंहिताबारे प्रस्ट पारेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी तथा भयमुक्त बनाउन आचारसंहिता जारी गरिएको आयोगले जनाएको छ । आचारसंहिता लागू भएपछि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।
यस्तै सरकारी भवन, सवारी साधन प्रयोग गर्न दिन नहुने, नयाँ पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान छ । राजनीति दल, उम्मेदवार, आमसञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारीलगायतलाई आचारसंहिताले समेटेको छ ।
