
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले शनिवार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए। ‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’, उनले भने।
पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए। सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे। ‘कांग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने। प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए।
