
काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिपक्षमा रहेका दलहरुसँग सहकार्य गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहिबार बसेको शीर्ष नेताहरुको बैठकले उपनिर्वाचनका लागि सबै स्थानमा उम्मेदवारी दिने र कांग्रेसको उम्मेदवारलाई सघाउन अन्य दलहहरुसँग छलफल गर्ने विषयमा कुरा भएको हो ।
यस्तै बैठकले पार्टी जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा खटिएका प्रतिनिधिहरुलाई बोलाएर त्यहाँको अवस्थाबारे जानकारी लिएको छ । कात्तिक १७ गते आइतबार भित्र तीन प्रदेश सभा र एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले पार्टी भित्र अन्तरघात रोक्न सके चारै क्षेत्र जितिने आँकलन समेत गरेको छ । शुक्रबार बस्ने केन्द्रीय समितिले उम्मेदवार चयनको मापदण्ड र मोडालिटी तयार गर्नेछ । उपनिर्वाचन आगामी मंसिर १४ गते हुँदै छ। उपनिर्वाचनको आचारसंहिताबारे छलफल गर्न अहिले निर्वाचन आयोगमा छलफल भइरहेको छ।
