
पोखरा । संघीय राजधानी बाहिरको अत्यन्तै ब्यस्त रहने पोखरा विमानस्थल स्यालका कारण आक्रान्त बन्न थालेको छ । अहिलेसम्म कुनै उडान प्रभावित नभए पनि कात्तिक महिना सुरु भएसँगै धावनमार्गमा स्याल देखा पर्न थालेका छन ।
चिसो बढेसँगै अहिले बिहानको समयमा दैनिक जसो धावनमार्गमा स्याल देखिने गरेको विमानस्थल कार्यालयले जनाएको छ । घाइते जस्तो देखिने एक स्यालसहित आधा दर्जन जति स्याल देखा पर्ने गरेको छ ।
‘विमानस्थलको धावनमार्गमा अहिले बिहानपख स्याल देखिन थालेको छ,’ विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बिगखबरसँग भने, ‘अहिलेसम्म कुनै उडान प्रभावित भने भएको छैन ।’
विमानस्थलको धावनमार्ग नजिकै झाडी रहेको र त्यहाँबाट घाम ताप्नका लागि स्याल खुल्ला रहेको धावनमार्गमा आउने गरेका छन । दर्घटना नहोस भन्ने हेतुले अहिले विमानस्थल कार्यालयले ६ जनालाई स्याल धपाउन खटाएको छ ।
त्यसमा दुई जना चरा धपाउन खटिने कर्मचारी हुन भने अन्य चार जना सुरक्षा गार्ड र माली हुन । विगतका वर्षमा पनि स्यालको समस्या देखिने गरेकोमा अहिले भने धेरै नै समस्या पारेको सूचना अधिकारी पौडेलले बताए ।
‘गएका वर्षमा पनि स्यालको समस्या नभएको भने होइन तर यो वर्ष धेरै नै दु;ख दिएको छ,’ उनले भने, ‘हामीले ६ जना कर्मचारीलाई स्याल धपाउन खटाएका छौँ ।’ अहिले विमानस्थलको आसपास रहेको झाडी हटाउने काम भइरहेको उनले जानकारी दिए ।
सो झाडी हटाउन पाँच दिन लाग्ने र त्यसपछि पनि समस्या समाधान नभए अन्य उपाय अपनाइने भएको छ । विमानस्थलमा अहिले स्यालले सताउने गरे पनि १५ वर्ष अघि बाघ समेत देखिने गरेको थियो । त्यसबखत पनि आसपास रहेको झाडी हटाए पछि आउन छाडेको बताइन्छ ।
समस्या समाधानका लागि जिल्ला वन कार्यालयसँग समन्वय गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।
