
पोखरा। पोखरामा पहिलो पटक टी–१० लिग प्रतियोगिता हुने भएको छ । फेवा क्रिकेट क्लबको आयोजनामा पोखराको लेकसाइड स्थित क्याम्पिङ ग्राउन्डमा यही कार्तिक २३ गतेदेखि ३० गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितालाई जिल्ला क्रिकेट सङ्घ कास्की र जिल्ला खेलकुद विकास समिति कास्कीले सहयोग गर्ने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको फेवा क्रिकेट क्लबका सचिव कृष्ण बरालले बताए ।
प्रतियोगिताका लागि आयोजकले शनिबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । लेकसाइड स्थित क्याम्पिङ् ग्राउन्डमा भएको ट्यालेन्ट हन्टमा ३२ खेलाडी सहभागी रहेका थिए । पहिलो चरणको छनौटबाट २१ जना छनौट भएको सचिव बरालले बताए । यस्तै छनौट भएका खेलाडीका लागि भोली बाट अभ्यास गराइने बरालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, सान्त्वना पुरष्कारका साथै विधागत तर्फ पनि पुरष्कार प्रदान गरिने सचिव बरालले जानकारी दिए । प्रथम हुनेले ७७ हजार ७ सय ७७ रुपैँयाका साथैै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय र तृतीय स्थान हात पार्ने टिमले क्रमश ४४ हजार ४ सय ४४, २२ हजार २ सय २२ रुपँैयाका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना स्थान हासिल गर्ने टिमले भने ९ हजार ९ सय ९९ रुपैँयाका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सिरिजको उत्कृष्ट खेलाडीले नगद रु ५ हजार ५ सय ५५ का साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, अनुशासित टिम, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फाइनल खेलको उत्कृष्ट खेलाडीले ट्रफी सहित थकाली खाना प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पोखराको क्याम्पिङ् ग्राउन्डमा ८ दिनसम्म चल्ने प्रतियोगिता टिम दर्ता खुल्ला भइसकेको छ । टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रुपैंया रहेको सचिव बरालले जानकारी दिए ।
