
म्याग्दी । म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा परेर घाइते भएका छ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।जिल्लाको मालिका गाउँपालिका ७ को बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना भएको थियो ।
उनीहरुलाई पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुब प्रसाद शर्मा बिगखबरलाई जानकारी दिए ।
दरबाङबाट यात्रु लिएर गएको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको थियो ।
बस घुम्तीमा टर्निङ नपुगेर सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ‘दुर्घटनामा घाइते हुनुभएका ६ जनालाई पोखरा रिफल गरेका छौँ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘घुम्तीमा टर्निङ नपुगेर दुर्घटना भएको रहिछ।’
दुर्घटनमा परेर घाइते भएका १७ जना मध्ये चार जनाको बेनी अस्पतालमा उपचार भैरहेको छ । यस्तै अन्य घाइते भने सामान्य उपचार पछि घर फर्किएका छन्। बसमा चालकसहित ३३ जना सवार थिए ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन, बिम गाउँका ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जाली रहेको प्रहरीले जनाएको छ ।
