
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु सामान्य भएको बताएका छन् ।
‘माधवजीले एक–दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले त्यसमा जोड पनि दिनुभएको थियो,’ प्रचण्डले बाँकेमा सञ्चारकर्मीसँग बोल्दै भने, ‘त्यो नभएपछि चित्त नबुझ्नु स्वभाविक हो । चित्त नबुझेर उहाँले असहमति जनाउनुभएको हो । मान्दिन भनेर विरोध गर्नुभएको हैन ।’
सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् । अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २ वर्षसम्म काम गर्न दिइएको पनि बताए ।
प्रदेश प्रमुखहरु केन्द्र सरकारको प्रतिनिधिका रुपमा रहने भएका कारण केन्द्र सरकारले आफ्नो उपयुक्तता हेरेर नियुक्ति गर्ने पनि प्रचण्डको भनाइ थियो ।
प्रदेश प्रमुखहरु परिवर्तनका सन्दर्भमा सत्ता साझेदार समाजवादी पार्टीसँग पनि छलफल गरिएको प्रचण्डको भनाइ थियो ।
