
काठमान्डौ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली भुमी अतिक्रमणमा परेको विसयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाकेको छ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल प्रधानमन्त्रीलाई बोलाइएको हो । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ ।
तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।
समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइन् ।
यस्तै, प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।
