काठमाडौं ओर्लिए बंगलादेशका राष्ट्रपति हमिद, बिहिबार पोखरा आउने

590
0
Share:

काठमाडौं।  ४ दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार काठमाडौं आइपुगेका छन् । उनी विमान बंगलाको नियमित उडानबाट काठमाडौं आएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद मंगलवार दिउँसो काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन् ।

५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिद विमानस्थलबाट होटल म्यारियटमा बस्नेछन्। भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्र स्रोतले जानकारी दियो । नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार बंगलादेशी राष्ट्रपति हमिद पोखराको भ्रमणमा आउनेछन्। बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आउने उनी दिउँसो विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ। पोखराबाट साँझ राष्ट्रपति हमिद काठमाडौं फर्किने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
Share: